मण्डलामा ‘दमिनी भीर’: “आफूलाई महान् ठान्ने र अरूलाई कमजोर ठान्ने सोच भनेकै समाजको खास उल्झन हो ।” -राजन मुकारुङ

0
SHARES
120
VIEWS

काठमाण्डौ// काठमाडौंको मण्डला नाटकघरमा अहिले नाटक ‘दमिनी भीर’ मञ्चन भइरहेको छ। असोज १० गतेसम्म मञ्चन गरिने यो नाटकका लेखक हुनुहुन्छ राजन मुकारुङ।
वहाँले आफ्नो मदन पुरस्कार विजेता उपन्यास ‘दमिनी भीर’ लाई १० वर्षपछि नाटकको रुपमा मञ्चन गर्नुभएको हो।
दर्शकको उत्साहपूर्ण साथ पाइरहेको बेला लेखक मुकारुङले दमिनी भीरबारे यस्तो लेख्नुभएको छ;

झन्डै १२ वर्षअघि जब “दमिनी भीर” उपन्यास आयो, तब म माथि एउटा कठोर प्रश्न आएको थियो- “तपाईंका पात्रहरू कोही पनि “हिरो (नायक)” र “हिरोइन (नायिका)” लाग्दैनन् । सबै लुम्रेझुम्रे । केही जित्दैनन्, तिनले जित्छन् जस्तो पनि लाग्दैन । यस्तो लेख्दा झ्याउ लागेन ?”

मैले उबेला जवाफ दिन्थेँ- “हो नि । म “कस्मेटिक” खालको नायक (वाद)मा विश्वास गर्दिनँ । सुकिला-मुकिला म आफै हुन सकिनँ, लुम्रेझुम्रे जिन्दगी नै बाँचिआइयो, त्यही महान् लाग्छ । मलाई त लच्छी र धौले कान्छाको प्रेम, गाउँको जीवन भोगिरहेका ती मान्छेहरू जो रूपमा देखिँदा मैलाधैला होलान्, तर सारमा उनीहरू सप्पै सप्पैको सफा र शालीन हृदय छ, त्यसैले मलाई हिरिक्क बनाउँछ । उनीहरूले के जित्नु पर्छ र ? बाहिरबाट देखिने तडकभडकको हाकाहेपाइलाई उनीहरूको सफा दिलले जिते समाज त अवश्य अघि बढ्छ र पुग्छ- ठिक ठाउँमा ।”

आज लगभग १२ वर्षपछि “दमिनी भीर” नाटक प्रदर्शन भइरहँदा तपाईंहरू ज-जसले अपार साथ दिएर नेपाली नाटकहरूको इतिहासमा गौरवपूर्ण उपस्थिति र आफ्ना धारणाहरू दिइरहनुभएको छ, यो महान् छ । यसका लागि सबैमा सिङ्गो “दमिनी भीर” नाटक टिमको तर्फबाट हार्दिक आभार व्यक्त गर्छौं, गरिरहन्छौँ ।
तर, यस्तो पनि लाग्छ- पिँधमा परेका, पारिएका मानिसहरूले सदियौँदेखि गरिरहेको पहिचानको खोजी र तिनका कथा-व्यथा सुन्ने तागत आज हामी जो आफूलाई “उच्च वर्ग र जात” ठान्नेहरूसित छ र ? के राजनीतिक नेतृत्वले ठिक यतिबेला यो प्रश्न थेग्ने हैसियत राख्छ ? उत्तर सिधा छ- छैन, राख्दैन ।

हामी भन्छौँ- “आजसम्म जसरी अपार मायाले साथ दिइरहनुभएको छ, यो साथले हामीलाई अपार ऊर्जा थपिरहेको छ । सही उत्तर मिलिरहेको छ कि हामी ठिक ठाउँमा, ठिक समयमा ठिक काम गरिरहेका छौँ । तपाईंहरूको साथले यही विश्वास प्राप्त भइरहेको छ । र, यति भन्ने हिम्मत पलाएको छ कि “आफूलाई महान् ठान्ने र अरूलाई कमजोर ठान्ने सोच भनेकै समाजको खास उल्झन हो । यति त्यागे समाज त समयको गतिभन्दा छिटो वेगले अघि बढ्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार