किन मनाइन्छ होली ? होलीमा प्रयोग हुने रंगको असरबाट कसरी जोगिने ?

0
SHARES
5
VIEWS

दमक// कला र संस्कृतिले भरिएको नेपालमा विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । होली पर्वको रुपमा मनाइने फागु पुर्णिमा विशेषतः हिन्दु धर्म मान्नेहरुले मनाउने गर्छन् । तर नेपालमा पछिल्लो समय प्राय सबै वर्गकाले होली पर्वलाई रमाइलो तरिकाले मनाउने गरेका छन् ।

होलीको आपसी सद्भावः
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउने प्रचलन रहिआएको छ ।

होलीको अघिल्लो रात होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । यसरी पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन् । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुवा पनि भनिन्छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

होलीको पौराणिक मान्यताः
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यस पर्वलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै स्वयं आगोमा भष्म भएकी थिइन् । विष्णुको नरसिंह अवतारको वर्णनको उत्पत्ति मानिने होली प्रह्लाद घटनाक्रमसँग सम्वन्धित छ ।
नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेँलो रंग भगवान श्री कृष्णको प्रीय रंग हो । शौभाग्यको सूचक रातो रगंको प्रयोग आजपनि व्यापक गरिन्छ ।

नेपालमा होलीको रौनकः

शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछाँयामा देशभर होलीका गीतहरु गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । होलीको लागि नेपाल सरकारले पहाडमा होली र तराईमा होली गरि २ दिन सार्वजनिक बिदा दिने गरेको छ । धार्मिक मान्यताबाट अलग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन् होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।

बालबालिकाले पिच्कारी अनि स–साना बेलुनहरुका साथमा मज्जा लिन्छन् । बजारमा किनेर पाइने पिच्कारी मात्र नभई तराईतिर बाँस काटेर त्यसको ढोडबाट बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि प्रयोग गर्ने गरिन्छ । वयस्कका लागि होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो ।

होली र सेतो लुगाः

पहिला होलीको समयमा चोली लगाउने चलन रहेको थियो । बढ्दो आधुनिकताले नेपाली मौलिक पोसाक हराए झैं होलीमा लगाइने चोली लगायतका पोसाक पनि हराउँदै गएको छ । अहिलेका युवापुस्ता होलीमा सेतो टी–सर्ट र कुर्थामा रमाउन थालेका छन् । होली र पहिरनको मनोविज्ञान जे सुकै भएतापनि पछिल्लो पुस्ता सेतो कपडामा रङ्गीविरङ्गी रङ पोख्न रुचि राख्छन् । होलीमा सेतो पहिरनले रङ भर्न सहज हुने र खुल्ने भएकाले समेत अहिलेका पुस्ताले होलीका लागि सेतो पहिरन बढि रुचाउने गर्दछन् ।

होलीमा प्रयोग हुने रंग स्वास्थ्यको दृष्टिकोणले कतिको लाभदायक छ ?

मानिसको छालाको स्पर्ष शक्ति फरक फरक हुने गर्दछ । यसर्थ हामीले होलीमा प्रयोग गर्ने रंग हामी सबैको छालाको लागि उपयुक्त नहुन सक्छ । यस्तोमा हामीले आफ्नो छाला अनुसार असर नगर्ने किसिमका नरम रंगहरु प्रयोग गर्नुपर्दछ । त्यस्तै पछिल्लो समय बजारमा अस्वभाविक रुपमा भित्रिएको क्यामिकल युक्त रंगहरुले हाम्रो शरिरलाई असर गरिरहेको हुन्छ । त्यसैले हामीले रंग प्रयोग गर्दा क्यामिकल नमिसाइएको नरम रंग प्रयोग गर्नुपर्दछ । तथापी हामीले रंग प्रयोग गर्दा सम्वेदनशिल अंगहरुलाई जोगाउनुपर्ने हुन्छ ।

प्राचीन वा प्राकृतिक कालमा फूल र रूखबाट प्राप्त रङ प्रयोग हुन्थ्यो र शरीरलाई हानि गर्दैनथ्यो । आयुर्वेदअनुसार होलीमा प्रयोग गरिने रङमा सिम्रिक पर्छ जसमा रोग विरुद्ध लड्ने औषधीय गुण हुन्छ ।

हाल रसायन मिसाइएका कृत्रिम रङ प्रयोग गरिन्छ, जसले फोक्सो, छाला,आँखा, दाँत, मुख, नाक, कान, घाँटी, कपाललगायतका अंगमा हानि गर्छ । त्यस्तै मदिरा, भाङजस्ता नसालु पदार्थ सेवनसँगै होली खेल्दा जोसले हेक्का नै नभई रङ आँखा, नाक, मुख हुँदै शरीरभित्र पस्न सक्छ । धेरैजसो अजैविक सुक्खा रङ वा अबिरमा हुने दुवै तत्व रङ दिने कलरेन्ट र अस्बेस्टसले क्यान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने गर्दछ ।

रङमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रङ र वस्तु मिसाइँदा रङ दिनप्रति दिन खतरा र हानिकारक भइरहेका छन् । रङ धेरै दल्दा सुन्दरता नै गुम्न सक्ने समेत सम्भावना प्रवल रहन्छ । अर्को अप्रत्यक्ष असर भनेको पहिलादेखि नै छालाका समस्याहरु भएकाहरुलाई समस्या झनै बढ्नसक्छ । जस्तै डन्डीफोरको समस्या छ भने समस्या झनै बढ्न सक्छ । घामको एलर्जी वा चायापोतोको समस्या छ भने झन् समस्या बढ्छ ।

कसरी जोगिने ?

स्वास्थ्यलाई रंगको असरबाट जोगाउन राम्रो गुणस्तर वा पाउडर, पानीमा घुलनशील, शुद्ध, उत्तम र केवल रङको प्रयोग गर्नुपर्छ । गोल्डेन, सिल्भर रङ तथा सिलिका मिसाइएका रङ प्रयोग गर्नुहुँदैन । रङ पानीसँग मिसाएर प्रयोग गर्नुहुँदैन । होली खेलेको रंग २ घण्टा भन्दा बढी राखिराख्नु हुँदैन । रङ लगाउँदा आँखा, मुख बन्द गर्ने, कृत्रिम रङ, फोहर पानी, बेलुनको प्रयोग गर्नुहुँदैन । आँखामा रङ पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा ति हुन्छ । तसर्थ हातले नमाडी सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ । होली खेल्नुअघि अनुहार र हातमा मोइस्चराइजर र फाउन्डेसन लगाउनुपर्छ ।

तोरी र सस्र्युको तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्छ । कपालको चमकता कायम राख्न तेल मिसाएर दल्नुपर्छ । छाला र अनुहारको रङ हटाउन कपासको सहयोगले नरिवल तेल लगाउनुपर्छ । यस्तो बेला चिसो पानी मात्रै प्रयोग गर्नु स्वस्थकर मानिन्छ ।  होलीको रंग पखालेपछि फेरि तेल वा मोस्चराइजर लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार